काठमाण्डौ । नेपालमा सशस्त्र द्वन्द्व समाप्त भई शान्ति सम्झौता भएको १२ वर्ष पूरा भयो ।
१२ वर्षअघि सशस्त्र युद्धको नेतृत्व गर्ने तत्कालीन नेकपा माओवादी हालको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अहिले सरकारमा छ । तर युद्धकालमा घाइते तथा अपाङ्ग भएकाहरुको अवस्था अझै उस्तै छ । नेतृत्वले आफूहरुलाई धोका दिएको भन्दै उनीहरु फेरि संघर्षमा उत्रिने भएका छन ।
यिनी हुन्, कालीकोट त्रिवेणी नगरपालिका–२ का ३२ वर्षीय कुलप्रसाद भट्टराई ।
हाल उनी महाराजगञ्जस्थित नेपाल प्रहरीको अस्पतालमा उपचाररत छन् । केही दिनअघि विष पिएपछि उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको हो ।
जनयुद्धकालमा उनी तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता बाबुराम भट्टराई र अहिलेका गृहमन्त्री रामबहादुर थापा बादल लगायतका नेताको सुरक्षा खटिएका थिए ।
युद्धकालमा जनमुक्ति सेनाका कमाण्डर रहेका उनै नेता तथा हालका गृहमन्त्री थापालाई भेट्न सिंहदरवार पुगेका लडाकुहरूले आफूहरुलाई यस्तो हालतमा छोडेर सम्पन्न जिन्दगी बिताएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनीहरूले जीवनदेखि हरेश खाइसकेको भन्दै गृहमन्त्रीसामु तीतो पोखे । विष सेवन गरेका आफ्ना घाइते सहकर्मीलाई भेट्न बिहीबार अस्पताल पुगेका अन्य बर्हिगमित पुर्वमाओवादी पूर्व लडाकुहरुले आफ्नो साथीले झै आफूहरुले झोलामा विष बोकेर हिँडेको बताए । उनीहरूले यो घटनालाई कमजोर सोचे सशस्त्र युद्धका बेला जस्तै आक्रोशित बन्नसक्ने चेतावनी दिए ।
उनी जस्तै सयौँ युवाहरु अहिले बेरोजगार, अंगभंग र घाइते अवस्थामा छटपटाइरहेका छन । शान्ति प्रक्रियामा आएर मुलुकमा ठूलै उथलपुथल भइसक्दा पनि आफूहरूको जीवनमा सुधार नआएको भन्दै उनीहरू आक्रोश पाख्छन् । नेतृत्वले आफूहरुलाई ठूलो धोका दिएका कारण अब वारपारको लडाइँमा लाग्ने उनीहरूको भनाइ छ ।
युद्धमा लागेका १९ हजार ६ सय जनमुक्ति सैनिकमध्ये चार हजार ९ जनालाई अयोग्य भन्दै विदा गरिएको थियो । करिब १४ सय जना नेपाली सेनामा समायोजन भएका थिए ।
बाँकीले स्वेच्छिक अवकाश रोजेका थिए । त्यसो त यसअघि पनि पूर्वमाओवादीका लडाकुहरु तथा द्वन्द्वपीडितहरुले पटक–पटक आन्दोलन गर्दै नेतृत्वको ध्यानार्कषण गरेका थिए तर उनीहरूका समस्याप्रति राज्य अझ गम्भीर बन्न सकेको छैन । पूर्वलडाकु र द्वन्द्वपीडितका समस्याप्रति सरकारले समय छँदै सोच्नुपर्दछ । रिपोर्टर्स नेपालबाट साभार
Views: 0