काठमाडौँ (जस) – गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक तथा उच्चस्तरीय समितिका संयोजक शेष घलेले आफ्नो प्रतिवेदन बुझाए पछि उक्त प्रतिवेदन उपर असहमति जनाउदै संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले उच्चस्तरीय समितिबाट राजीनामा दिएका छन ।
बुधबार बिहान बसेको बैठकमा अध्यक्ष घलेले आफ्नो प्रतिवेदन बुझाएको र उक्त प्रतिवेदनको निष्कर्षबारे असहमति जनाउंदै महतोले राजीनामा दिएको समितिका एकजना सदस्यले बताए। उनका अनुसार प्रतिवेदनमा संयोजक घलेले उपाध्यक्ष सोनाम लामाले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा झन्डै २,६०० प्रतिनिधिहरुलाई मात्रै मान्यता दिनु पर्ने जनाएका थिए। उनले ६५ प्रतिशत तथा २५ प्रतिशत प्रतिनिधि छनोट पनि विधान बमोजिम गर्न सुझाव दिएका थिए । तर यस अघि अध्यक्ष कुमार पन्तले ३,६०० बढी प्रतिनिधिको नामावली निर्वाचन समितिलाई बुझाएका थिए ।
उनकै दबाबमा निर्वाचन समितिले आगामी मार्च २१-२२ मा संघको नयाँ केन्द्रीय कार्य समिति चुन्न निर्वाचन गराउने जनाएको छ। तर कुल आचार्यले नेतृत्व गरेको पक्षले प्रतिनिधि विवाद समाधान नभएसम्म चुनावमा भाग नलिने अडान राख्दै आएको छ।
उच्चस्तरीय समितिको अर्को बैठक तथा अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक बुधबार बेलुका छुट्टा छुट्टै बस्ने बताइएको छ।
स्रोत: राष्ट्रिय जन सवाल दैनिक
Views: 0