काठमाडौं ०४ असोज – गाउँले दाजुभाइले नेताजी भन्ने शब्दले पुकारिदिएपछि राजनीतिक दलको झन्डा बोकेर हिँड्दैमा त्यो नेताजीले आफूलाई अन्य नागरिकभन्दा बेग्लै ग्रहबाट धर्तीमा अवतरित भएको ठान्ने प्रवृत्ति बढ्दै गएको छ ।
नेता त्यो हो, जसले असामान्य परिस्थितिमा सामान्य तरिकाले असामान्य समस्याको सामान्य समाधान निकाल्न सक्छ । सामान्य परिस्थितिमा जो कसैले पनि काम गर्न सक्छ । जटिल परिस्थितिमा निकै परिश्रम गरेर काम फत्ते गर्नेहरू पनि पर्याप्त सङ्ख्यामा भेटिन सक्छन् ।
सामान्य नागरिकले गरेभन्दा भिन्न र सहज तरिकाले जुनसुकै समस्याको पनि हल गर्न सके मात्रै नेता वास्तविक नेता ठहरिन्छ ।
निणर्य क्षमता, इच्छाशक्ति, सहि र गलत छुट्याउन सक्ने खुबी, विषयवस्तुको राम्रो ज्ञान, परिस्थिति अनुरुपमा आफ्नो कार्यनीति र कार्यशैलीमा परिवर्तन गर्ने लचकता, सच्चरिक्त, केही गर्नु पर्छ भन्ने उत्शाह, आत्मविश्वास, निस्पक्षता, धैर्यता आदि असल नेतृत्वका गुण हुन् ।
जनसमुदाय वा आफ्नो जनशक्तिको मनमस्तिष्कमा सकारात्मक हस्तक्षेप गरी उनीहरुलाई आफ्नो योजना अनुरुप निर्दिष्ट दिशातिर डो¥याउन सक्ने आफ्नो क्षेत्रको नेता हुन्छ ।
आजको नेपालको कुरा गर्ने हो भने पनि यो कुरा सही हो । जीवनको लामो समय खर्चेर अनेकौं आरोह–अवरोह छिचोल्दै आजको नेतृत्व जनताको बीचमा क्रियाशील छ । इमान्दारी, क्षमता, सुझबुझ, क्रियाशीलता र दूरदृष्टिसहितको नेतृत्वबाट मात्र कुनै पनि संस्था, पार्टी र मुलुकको भविष्य सुनिश्चित हुने हो
नेतृत्वमा हुने सबैभन्दा महत्वपूर्ण क्षमता भनेको मानिस र मानिसको भावनालाई बुझ्न सक्नु पनि हो । सबै सोच र विचार भएका मानिसलाई मिलाएर एउटै नेतृत्वमा अगाडि बढाउन सक्नु नेतृत्वको सबैभन्दा ठूलो चुनौति हो । मानिसलाई उत्प्रेरित गर्न सक्नु, उचित सम्मान गर्नु, मानिसको क्षमताको कदर गर्नु तथा प्रोत्साहन दिनु र विभिन्न किसिमका सफलता तथा असफलताको भावनालाई व्यवस्थापन गर्नु भावनात्मक बुद्धिको प्रयोग गर्नु हो । सफल नेतृत्वकर्तासँग व्यावहारिक रूपमा मानिसलाई बुझ्न सक्ने क्षमता रहेको हुन्छ । मानिसलाई राम्रोसँग सुन्ने र उसलाई बुझ्नका लागि सुन्ने, मानिसको फरक–फरक मानसिक अवस्थामा फरक तरिकाले सकारात्मक व्यवहार गर्ने, मानिसलाई अघि बढ्न उत्प्रेरणा दिने तथा मद्दत गर्ने बानी नेतृत्वमा हुन जरुरी छ ।
देशको सकारात्मक परिवर्तन र विकासको नयाँ मार्गचित्र जनताले नेतृत्वको क्रियाशीलताबाटै प्राप्त गर्ने हो । देश विकासको प्रेरणा पनि जनताले नेतृत्वबाटै ग्रहण गर्ने हो । नेतृत्व त रोलमोडल वा नमूना हुनुपर्छ । नेतृत्वमा रहने व्यक्तित्वहरुले आफूलाई समाजका विभिन्न क्षेत्रबाट आशाको नजरले हेरिरहेका छन् भन्ने बुझेमा मात्र साँचो अर्थमा संगठन, संस्था, पार्टी र मुलुकको नेतृत्व सम्भव हुन्छ । व्यक्तिगत स्वार्थ र हीनताबोधबाट माथि उठेर चिन्तन गर्ने हो भने मात्र आफ्नो क्षेत्रको सच्चा सारथी हुन सकिन्छ । मानिस त्यहीं पुग्छ जति उसको सोचको परिधि छ । एउटा सफल नेतृत्वको सोच जहिले पनि ठूलो हुन्छ । ठूलो सोचले मानिसलाई ठूलो काम गर्न उत्प्रेरित गर्छ । नेता सानोतिनो नकारात्मकतामा अल्झिएर आफ्नो समय खेर फाल्दैन । नेता अरुको प्रगतिमा जल्नु हुदैन । नेता आफू जस्तै साथीहरुको क्षमतामा पनि विश्वास गर्नुपर्छ ॥
Views: 65